जित्नैपर्ने बाध्यतासहित सुखद् नतिजाका लागि युएईविरुद्ध मैदानमा उत्रँदै नेपाल



काठमाडौं । आज आईसीसी विश्वकप लिग २ को अन्तिम खेल हुँदैछ । ७ टिम सम्मिलित चार वर्षदेखि चलिरहेको लिगमा हरेक टिमले ३६÷३६ खेल खेल्दै सम्पन्न हुने लिगमा अन्तिममा नेपाल र युएई भिड्दैछन् ।

राजधानीको कीर्तिपुरस्थित त्रिविको खेल मैदानमा लिगकै अन्तिम खेल नेपालका लागि अग्निपरिक्षा समान हुने देखिएको छ । लिगका टप तीन मुलुकहरुले विश्वकप छनोटका लागि स्थान बनाउनेछन् । सोही अनुरुप स्कटल्याण्ड र ओमानले आफ्प्नो स्थान बनाइरहेका छन् भने अन्तिम खेलमा युएईविरुद्ध जित हात पारेमा नेपालले पनि सो स्थान बनाउनेछ ।

युएईविरुद्धको खेल नेपालका लागि ऐतिहासिक मात्र नभई निर्णायक पनि हुने देखिएको छ । यदि नेपालले जित हात पार्न नसकेको खण्डमा नामिबियाले छनोटमा स्थान बनाउनेछ । त्यसैले नेपाल र युएईबीचको खेल नेपालका लागि मात्र नभई नामिबियाका लागि पनि अति महत्वपूर्ण मानिएको छ ।

नेपाल पछिल्लो समय उच्च लयमा देखिएको छ । पछिल्ला ११ खेलमा १० वटा खेलमा जित हात पारेको नेपालले यसअघि कीर्तिपुर मैदानमै भएको खेलमा पनि युएईलाई पराजित गरिसकेको छ । पछिल्ला दिनमा उच्च प्रदर्शन गरेको नेपालका लागि युएई नयाँ र बलियो प्रतिस्पर्धी नभए पनि खेलमा जे पनि हुनसक्ने भएकोले एकमात्र जित्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।

युएई भने नेपालसँगकै यसअघिको पराजयको कारण एकदिवसीय मान्यताबाट बञ्चित भएको अवस्था भएकोले मनोबैज्ञानिक रुपमा कमजोर महसुस देखिए पनि बुधबारको खेलमा पपुवान्युगिनीविरुद्ध प्रभावशाली जित निकालेसँगै मनोबल उच्च रहेको हुनसक्छ ।

पछिल्लो समय नेपाली क्रिकेट टिममा फरक फरक खेल जिताउन सक्ने खेलाडीहरु देखिएकोले बिहीबारको खेलमा पनि को नेपालका लागि नायक बन्ने हुन् त्यो प्रतिक्षाकै विषय देखिएको छ । पछिल्ला २ खेलमा टिममा समावेश भएका ललितनारायण राजवंशी र सन्दीप लामिछानेको बलिङलाई युएईले सामना गर्नु निकै कठिन देखिने आंकलन गर्न सकिन्छ । त्यस्तै पछिल्लो समय नेपालको ब्याटिङ लाइनअपमा जुन खेलाडीले पनि उच्च प्रदर्शन गर्न सक्ने पछिल्लो ११ खेलमा देखिएको छ ।

युएईमाथि नेपालको कीर्तिपुरको मैदान नेपालका लागि भाग्यशाली देखिएको छ । कीर्तिपुरमा युएईविरुद्ध नेपालले एउटा पनि खेलमा पराजय भोग्नु नपरेको इतिहासलाई निरन्तरता दिने दाउमा नेपाली टिमका नयाँ प्रशिक्षक मोन्टी देसाई र उच्च लयमा रहेका कप्तान रोहित पौडेल देखिन्छन् ।

अहिलेसम्म सम्पन्न नेपालमा नेपालले ३५ खेलमा १८ मा जित हात पारेको छ भने १५ खेलमा हार ब्यहोर्दा २ खेलमा अंक बाँडेको छ ।

त्यस्तै युएईले खेलेका ३५ खेलमा १५ खेलमा जित र १७ खेलमा हारका साथै ३ खेलमा अंक बाँडेको छ । यससँगै युएई अंक तालिकामा अन्तिमको पपुवान्युगिनीभन्दा एक स्थान माथि रहेको छ । अंक तालिकामा पपुवान्युगिनी सबैभन्दा अन्तिम स्थानमा रहेको छ ।

टिकट सोल्ड आउट
नेपाल र युएईबीचको खेलको सम्पुर्ण टिकट बिक्री भइसकेको छ । बिहीबार हुने खेलको सम्पुर्ण टिकट बिक्री भएको क्रिकेट सिरिजको टिकेटिङ पार्टनर माई पेले जनाएको छ । त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १६ हजार मानिएको छ । तर भिड व्यवस्थापनलाई लक्षित गरेर १२ हजार टिकट बिक्रीको तयारी गरिएको थियो ।

लिग डिभिजन टूमा उत्कृष्ट पुनरागमनसहित एकदिवसीय हैसियत बचाउन सफल बनेको नेपालको राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय विश्वकपको छनोटका लागि बिहीबार प्रतिस्पर्धा गर्दैछ ।

डिभिजन टूमा एकदिवसीय हैसियत जोगाउन सफल बनेको नेपाल विश्वकप छनोटको समेत नजिक देखिएको छ । प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ क्यानले दर्शकका लागि १ सय ५० रुपैयाँको टिकटको ब्यवस्था गरेको थियो ।