

ओलीलाई गगनको जवाफ- ‘अहिले होइन २०८४ मा मिल्न सकिएला’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका हुन् ।
राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका ओलीले पत्रकारहरुले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’
संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’
यसपटक भने त्यो सम्भावना नभएको थापाले बताए । एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले भने, ‘सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिंदैन ।’