

सुदूरपश्चिम मुख्यमन्त्री शाहलाई विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार प्रदेशसभामा भएको मतदानमा शाहले ४१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् । उनले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा ११ मत परेको छ । प्रदेशसभामा जम्मा ५२ मत खसेको थियो ।
उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए भने विपक्षमा नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।
शाह माघ २६ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेश सभाबाट विश्वासको मत नपाएपछि तत्कालिन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए।
आइतबार विश्वासको मतका लागि मुख्यमन्त्री शाहले निणर्यार्थ प्रस्तुत पेश गरेका थिए ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा नेपाली कांग्रेस १९ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल हो ।