सशस्त्रका १६ खेलाडी बढुवा, यी हुन् बढुवा भएका खेलाडीहरु



काठमाडौं । नेपाल एपिएफ क्लबका १६ खेलाडी २२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा जवानबाट सहायक हवल्दार पदमा बढुवा भएका छन् ।

एपिएफका लागि खेल्दै नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका खेलाडीलाई बढुवा गरेको हो । क्लबको इतिहासमा पहिलो पटक पदक विजेता खेलाडीलाई विशेष बढुवा गरिएको एपिएफका प्रहरी निरीक्षक विजय केसीले जानकारी दिए ।

बढुवा हुनेमा सबैभन्दा धेरै महिला फुटबल टोलीका खेलाडी छन् । फुटबलका सावित्रा भण्डारी, अनिता बस्नेत, एञ्जिला तुम्बापो सुब्बा, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, नविन लामा, तोप बहादुर विष्ट बढुवा भएका छन् ।

यस्तै भलिबल टोलीबाट नेविका चौधरी, उषा कुमारी विष्ट, रेश्मा भण्डारी र सरस्वती चौधरी पनि बढुवा भए । क्रिकेटकी सिता रानामगर, जुडोकी देविका खड्का, ट्रायथलनकी सोनी गुरुङ तथा एथलेटिक्सका शिवराज पार्की र मंगल प्रसाद थारु पनि बढुवा भएका छन् ।

यस्तै एपिएफले क्लबको प्रतिनिधित्व गर्दै विभिन्न विभूषण प्राप्त गर्ने खेल व्यक्तित्वलाई पनि सम्मान गर्यो । यसक्रममा २०७८ सालमा नेपाल प्रताप सुभुषणबाट विभुषित हुने शोभाकान्त खनाल र सुकीर्ति पदकबाट विभुषित हुने रेश्मा भण्डारी, पुरन राई (२०७६), देविका खड्का र किरण सिंह बोगटी (२०७७), संगिता बस्याल, सोनी गुरुङ र लक्ष्मण तामाङ (२०७८) लाई सम्मानित गरिएको थियो ।