सैनिक वार कलेजका शिक्षार्थीले गरे सशस्त्रको  हेडक्वार्टर भ्रमण



काठमाडाैं । नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले पौष २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालमा भए गरेका विविध कार्यहरुको जानकारी लिएका छन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले शिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्रहरु, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको समन्वय तथा सहकार्य, सुरक्षा चुनौतीहरु लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए ।

अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाहरुको समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भट्टले प्रष्ट पारेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्ट र उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी बिदुर अधिकारीले एक आपसमा माया चिनो आदान–प्रदान गरेका थिए ।

भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी समेत लिएका थिए ।