

पोदारको अध्यक्षतामा क्यान महासंघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षमा रणजितकुमार पोदार निर्वाचित भएका छन् ।
महासंघको शनिबार भएको २९ औँ वार्षिक साधारणसभा एवम् १४औँ केन्द्रीय महाधिवेशनले पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पोदार सर्वसम्मत अध्यक्षका लागि चुनिएका हुन् । अन्य केही पदमा भने मतदान गरिएको थियो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी, उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भएका छन् ।
महासचिवमा चिरञ्जीवी अधिकारी, कोषाध्यक्षमा नवीन जोशी, सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह), जिल्ला शाखा समूहबाट सचिवमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्वाचित भएका छन् ।
लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ, सदस्यद्वयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएका छन् । केन्द्रीय कार्यसमिति चयन हुनुअघि ७४ जिल्ला र सातै प्रदेशका शाखा समितिमा अधिवेशन सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । सूचना प्रविधि क्षेत्रमा आबद्ध पेशाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले पहलकदमी भूमिका खेल्ने उनको भनाई छ ।
“नेपालमा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न विशेष पहल गर्ने, सूचना प्रविधिका स्टार्टअपहरुलाई उद्योगमा रुपान्तरणको निम्ति काम गर्ने, सूचना प्रविधिको व्यवसाय प्रवद्र्धनमा विशेष काम गर्ने, नेपाली समाजलाई सूचना प्रविधिको डिजिटल डिभाइड कम गराउन देशैभर काम गर्ने लगायतका योजनामा मेरो नेतृत्वको टिमले काम गर्नेछ”, उनले भने ।