

कर्णेल अञ्जन रुपाखेती, किन गरे आफ्नै निवासमा आत्महत्या ?

जुम्ला । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती सोमबार २४ नम्बर बाहिनीमा बाथरुममा मृत फेला परेका छन् ।
बिहानसम्म चिया खान नउठेपछि उनको निवासको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ । अघिल्लो दिनसम्म सामान्य रहेका कर्णेल रुपाखेतीले के कारणले आत्महत्या गरेका हुन् त्यसबारेमा अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।
निजको शव परिवारका सदस्य आएपछि शव पोष्टमार्टमका लागि पठाइएको र पोष्टमार्टमपछि विस्तृत विवरण आउने पनि जनाइएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा आत्महत्या नै भएको देखिएको घटनास्थल पुगेका एक प्रहरीले बताए ।
नेपाली सेनामा बहादुर र होनाहार अधिकृत मानिएका रुपाखेतीले के कारणले आत्महत्या गरेका हुन् त्यस कुराको वास्तविकता पत्ता लगाउने गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । विवाहित कर्णेल रुपाखेतीका श्रीमतीका साथै एक छोरा र एक छोरी रहेका छन् ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।