३५ तोला सुन र २५ लाख नगदसहित डिएसपी ठगबहादुर पक्राउ !



रुपन्देही ।  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीकै अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरू गरेको थियो। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ उनले भने।