

बौंदीकालीमा निर्वाचन शान्तिपूर्ण, ५८ प्रतिशत मत खस्यो

बौंदीकाली । आइतबार सम्पन्न मतदानमा बौंदीकाली गाउँपालिकामा ५८.०१ प्रतिशत मत खसेको निर्वाचन आयोग कार्यालय नवलपुरले जनाएको छ ।
बौंदीकालीमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । ११ हजार ७२ जना मतदाता रहेको बौंदीकालीमा ६ हजार ४ सय २३ मत खसेको जनाइएको छ । गत स्थानीय निर्वाचनमा सो भन्दा धेरै मत खसेको थियो ।
जानकारीअनुसार बौंदीकालीको वडा नं. १ मिथुकरममा १६७६ मतदाता रहेकोमा जम्मा ९३६ मत खसेको छ । त्यस्तै वडा नं. २ डेढगाउँमा २६६१ मतदाता रहेकोमा १६३१ मत खसेको छ भने वडा नं. ३ रकुवामा १७८० मतदाता रहेकोमा ९०१ मतदाताले मतदान गरेका छन् ।
त्यस्तै वडा नं. ४ रुचाङमा १९४२ मतदाता रहेकोमा ११२१ मत खसेको छ भने वडा नं. ५ बोबकमा १०६३ मतादातामा ७२५ मत खसेको छ भने वडा नं. ६ नरममा १९५० मतदाता रहेकोमा ११०९ मत खसेको जनाइएको छ ।
मतदान सम्पन्न भइसकेपछि बौंदीकालीका सबै मतपेटिकाहरु सदरमुकाम कावासोतीतर्फ लगिसकिएको जनाइएको छ । उक्त क्षेत्रको प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुबहादुर कार्की र नेकपा एमालेका तर्फबाट तिल बहादुर महत (क्षेत्री) बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीच भएको भिडन्तमा तिलकले बाजी मारेका थिए ।