

राप्रपाको चुनावी अभियानमा जोडिइन् मनिषा कोइराला, आज बसन्तपुरमा सम्बोधन गर्दै मनिषा

काठमाडौं । राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।
देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ।