

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद पाण्डेद्वारा सपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा पाण्डेलाई शपथ दिलाएका हुन् ।
सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् ।
सांसद सूूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट २०३७ राजनीतिमा प्रवेश गरेका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए ।
शपथपछि सञ्चारकर्मीका जिज्ञासामा सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र सङ्घीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया दिए ।
उनले भने, “संसदको गरिमालाई उच्च बनाउँदै प्रतिपक्षको भूमिकालाई सशक्त बनाएर आमजनताका बीचमा जेजस्तो धारणा विकास भएको छ, त्यसलाई चिर्दै सशक्त प्रतिपक्षको उचाइ दिन म प्रयत्न गर्ने छु ।”