सूर्यनेपाल यसवर्ष पनि उत्कृष्ट करदाता, १५ करदाता सम्मानित गर्दै विभाग



काठमाडौं । सूर्यनेपाल उत्कृष्ट करदाताबाट सम्मानित हुने भएको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष कर दिवसका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मानित गर्दै आएकोमा अघिल्ला वर्षहरुमा झैं सम्मानित हुँदै आएको सूर्य नेपाल यसवर्ष पनि सम्मानित हुने भएको हो ।

सूर्य नेपालले यस वर्ष सबैभन्दा धेरै पाँच अर्ब ३१ करोड आयकर तिरेको छ । विभागले अघिल्ला वर्षहरुमा पनि उत्कृष्ट भई सम्मानित हुँदै आएको सूर्य नेपाललगायत उत्कृष्ट १५ करदाताहरुको नाम सार्वजनिक गरेको छ ।

विभागले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गर्दै आएको विभागले यो वर्ष पनि विभिन्न विधाका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो ।

सम्मानित हुनेमा रेमिट्यान्सतर्फ आईएमई, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड र निर्याततर्फ डाबर नेपाल छन् । त्यस्तै व्यक्तिगत रूपमा सबैभन्दा धेरै आयकर तिर्ने विजयबहादुर शाह सम्मानित हुनुहुने भएको छ । शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरी कम्पनी रहेका छन् ।

यस्तै जलविद्युतमा हिमाल पावर कम्पनी, कृषि तथा पशुपंक्षी उद्योगमा अन्नपूर्ण एग्रोभेट, सहकारीतर्फ छिमेकी लघुवित्त, बैंकतर्फ नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, शिक्षण सेवातर्फ मणिपाल मेडिकल कजेल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी सम्मानित हुने भएका छन् ।

यस्तै मध्यमस्तरीय करदातातर्फ कामना सेवा बैंक लिमिटेड, भ्याटतर्फ घोराही सिमेन्ट र भीएस सर्भिसेस प्रालि पनि उत्कृष्ट १५ करदातामा पर्दै सम्मानित हुने भएका छन् । उत्कृष्ट १५ करदातालाई कोरोना महामारी कम भए पछि सम्मान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।