

कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु

दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।
कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो ।
उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले करिब दुई दशकसम्म गाविसको नेतृत्व तहमा रहेर काम गरेको डाँगीले बताए । साथै उनले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गर्नुभएको छ । उनका चार छोरा छन् ।