मेरो बाँकी जीवन नवलपरासीको विकासमै खर्चन्छुः विनोद चाैधरी



नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी-१ को विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताएका छन् । आइतबार नवलपरासी क्षेत्र नं. १ मा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले आफ्नो बाँकी जीवन नवलपरासीको विकासका लागि खर्चने उद्घोष गरे ।

उनले भने, ‘मेरो जीवनको बाँकी समयको महत्वपूर्ण कार्यभार यो क्षेत्रको विकास हो । यो मेरो प्रतिष्ठाको विषय पनि हो अनि तपाईहरुको विश्वासको विषय पनि ।’ नवलपरासी १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेता चौधरीले जनतासँग जोडिने अवसर नवलपरासीले दिएकाले यहाँको विकासका लागि कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।

‘जनतासँग जोडिने भाग्य मिलेको छ, यति धेरै समर्थन मिलेको छ । अब हाम्रा लागि सबैभन्दा बढि प्राथमिकता अरु के हुन्छ ? मेरो प्राथमिकता अब नवलपरासी क्षेत्र नं. १ हो । यो मञ्चबाटै यो प्रतिवद्धता गर्दछु । मेरो लागि यो भन्दाअरु महत्वपूर्ण केहि हुन सक्दैन,’ उनले भने ।

विरोधी पक्षले विनोद चौधरीलाई भेट्न र टेलिफोनमा कुराकानी गर्नसमेत सम्भव नभएको टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले स्थानीयलाई प्रश्न गरे, ‘तपाईहरुलाई दिनभर दुई हातमा फोन समातेर कुरा मात्रै गर्ने नेता चाहियो कि विकास गर्ने ? हाम्रा देश र विदेशमा जति पनि उद्योग छन्, हामी त्यहाँ कँहि पनि बस्दैनौं । हामी व्यवस्थापन गर्छाैं । २४ सैं घण्टा यहाँ बसेर केहि हुँदैन, विकास चाहियो । विकासका लागि सोच चाहियो अनि त्यो पूरा गर्ने प्रतिवद्धता । त्यो हामीसँग छ ।’

उनले नवलपरासीसँग ४० वर्षदेखि सम्बन्ध रहेको उल्लेख गर्दै राजनीतिक रुपमा नवलपरासी १ सँग जोडिएको सात दिन मात्रै भएको बताए । उनले नवलपरासी १ का समस्याबारे आफू जानकार रहेकाले त्यसको समाधानका लागि प्रतिवद्ध रहेको बताए ।

‘यहाँ डुवानका समस्या छ । डुवानको समस्या ४३ वर्षदेखि छ । ४३ वर्षदेखि ६/७ सय घर पुनर्व्यवस्था हुन सक्दैन ? , उनले प्रश्न गरे, ‘भूकम्पपछि हाम्रो संस्था (चौधरी फाउण्डेसन) ले दुई हजार ६ सय घर बनाएको थियो । त्यो पनि भूकम्प प्रतिरोधी घर । अनि यहाँका ६ सय घरको पुनर्व्यवस्था हुन सक्दैन ?’

उनले डुवानबाट प्रभावित बस्तीको पुनर्व्यवस्थापनका लागि काम गर्ने बताए । साथै उनले उखु किसान र गण्डक समस्या पनि समाधान गर्ने प्रतिवद्धता जनाए । नवलपरासीमा वेरोजगारी समस्या रहेको उल्लेख गर्दै उनले भने, ‘मलाई नवलपुरको उद्योगग्राम बनाउन ३५ वर्ष लाग्यो । त्यहाँ प्रत्यक्षपरोक्ष १० हजार मान्छेले रोजगारी पाएकाछन् । अब मसँग ३५ वर्ष पनि बाँकी छैन तर अब घरघरमा लघु–उद्योग चल्नुपर्छ । मेरो एकल प्रयासले एउटा उद्योगग्राम बनाउन ३५ वर्ष लाग्यो, मलाई जिताएर पठाउनुभयो भने मेरो एक हस्ताक्षरले ७७ जिल्लामै उद्योगग्राम बन्छ । त्यस्तो हुन्छ राज्यशक्ति भनेको ।’

कार्यक्रममा कांग्रेस नेता देवेन्द्रराज कँडेल, प्रदेश सभा उम्मेदवार एवं पूर्व सांसद देवकरण कलवारलगायत उपस्थित थिए ।