बालिकाको सशक्तिकरणबारे रोटरीले चलायो बहस



ललितपुर । रोटरी डिस्ट्रिक्ट ३२९२ गर्ल्स चाइल्ड इम्पावोर कमिटिले (District Girls Child Empowerment Committee, Rotary District 3292) भाद्र ३१ गते शुक्रवार ललितपुर महानगरपालिका शिक्षा महाशाखाको सहकार्यमा ललितपुर जिल्लाभित्र रहेका ४० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग बालिकाको सशक्तिकरणका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम रोटरी क्लब अफ जावलाखेल तथा शान्ति शिक्षा अभियान नेपालका सहयोगमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्देश्य विद्यालयमा बालिकाहरुको शिक्षा, उनीहरुको अधिकारको सम्बन्धमा जागरण पैदा गर्नुका साथै र उनीहरुलाई समाजमा अगाडि बढ्न प्रेरणा प्रदान गर्ने विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बालिकालाई सक्षम गराउन यस्ता अन्र्तक्रिया कार्यक्रमले महत्पुर्ण भुमिका खेल्ने बताए । उनले बालिकाको सशक्तिकरणका लागि बिद्यालय तहमा नै उनीहरुको सोंच र बिचारमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रम रोटरी डिस्ट्रिक्ट ३२९२ गर्ल्स चाइल्ड इम्पावोर कमिटिकी चेयर रोटरियन हेमाकुमारी अधिकारीको सभापतित्व तथा ललितपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा रोटरियन हेमाकुमारी अधिकारीले बालिका सशक्तिकरणकाका लागी समाजले खेल्नुपर्ने भुमिका, रोटरीले गर्न सक्ने कार्यक्रम तथा समाज परिवर्तनमा महिलाको सहभागितको प्रभावकारिता र यसको अपरिहार्यताको बारेमा प्रस्तुतिकरण दिएकी थिईन् ।

समाज रुपान्तरणको लागि महिला सशक्तिकरणको आवश्यक भएको र त्यो बालिकाको सशक्तिकरणबाट मात्र सम्भव रहेको उनको भनाई थियो । बालिकाको सशक्तिकरण उनीहरुलाई शिक्षित बनाउन सकेमात्र सम्भव हुने कार्यक्रममा अधिकारीले बताईन् । बालिकाहरुको शिक्षाको विषयलाई गम्भिरतापूर्वक लिएर पढ्दा पढ्दै बालिकाहरुले किन बिद्यालय छोडछन् भन्ने विषयको गम्भीर समिक्षा गर्दै अगाडि बढनुपर्नेमा उनको जोड थियो ।

एउटा बालिका शिक्षित हुँदा त्यसको बहुआयामिक प्रभाव समाजमा पर्ने हुँदा राज्य तथा रोटरी जस्ता सामाजिक संस्थाले पनि यसलाई संवेदनशील रुपमा लिनुपर्ने अधिकारीको भनाई थियो । बालिका शिक्षाले महिला सशक्तिकरणका अतिरिक्त मानव बेचविखनविरुद्धको अभियानलाई पनि सहयोग पुग्ने हुँदा यसतर्फ सवैले हातेमालो गरेर अगाडि बढ्न समेत अधिकारीले आग्रह गरेकी थिईन् ।

यसै गरी रोटरी डिस्ट्रिक्ट ३२९२ गर्ल्स चाइल्ड इम्पावोर कमिटिकी कोचेयर रोटरियन कल्पना महर्जनले आफ्नो सगरमाथा आरोहरणको भिडियो प्रस्तुत गर्दै नेपालमा बालबिवाहको भयानक समस्या रहेकोले यस्ता विकृति र बिसंगतिको अन्त्यका लागि रोटरीको खास भूमिका हुन सक्ने बताईन् । कार्यक्रममा ललितपुरका रहेका ४० सामुदायिक बिद्यालयका प्रधानाध्यापक सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।