महिला सशक्तिकरणका लागि बालिका शिक्षा अनिवार्यः डिस्ट्रिक्ट गभर्नर राजभण्डारी



काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरी इन्टरेनशनलकी पहिलो महिला अध्यक्षका रुपमा रहेकी जेन्निफर जोन्सले तय गरेको मर्मअनुरुपको मार्गचित्रमा लाग्न नेपालका रोटरी क्लव तथा आम रोटरियनहरुलाई आग्रह गरेका छन् ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थिति आनन्दभूमि बिजनेश सेन्टरमा रोटरी क्लव अफ रुद्रमति काठमाडौंको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लव भ्रमणका क्रममा राजभण्डारीले जेन्निफर जोन्सले इमाजिन रोटरी अन्र्तगत मूलत चार विषयमा जोड दिएको बताए । पोलियोरहित बिश्व, सवै नागरिकले शुद्व खानेपानी पिउन पाउने अवस्था, प्रत्येक बालबालिका विद्यालय जाने वातावरण र विश्व शान्ति र हार्दिकताको परिकल्पना रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्सले गर्नुभएकाले सो मर्मलाई आत्मसात् गर्दै उक्त मार्गचित्रमा अग्रसर हुन रोटरी क्लव तथा रोटरियनलाई आग्रह गरेका हुन् ।

नेपालमा बालबालिका विशेषत बालिकाहरु शुरुका दिनमा करिव ९७ प्रतिशतको हाराहारीमा बिद्यालय जान शुरु गरेपनि विस्तारै कक्षा १० सम्म पुग्दा त्यो दर भयानक रुपमा घटने गरेको अवस्था सोचनिय रहेकोले सो अवस्थाको अन्त्यका लागि बालिका शिक्षाका सन्दर्भमा गम्भीर बहसको खाँचो रहेको गभर्नर राजभण्डारीले बताए ।

नेपालमा क्रियाशिल रोटरी क्लवहरुले बालिका शिक्षाको सन्दर्भमा देखिएको उक्त समस्याका कारण र समाधानका उपायबारे  सघन रुपमा छलफल गर्नुपर्ने आवश्यक्ता समेत औल्याए । छात्राले क्रमिक रुपमा किन विद्यालय छाड्ने अवस्था सिर्जना हुन्छ भन्ने बारे व्यापक अध्ययन र अनुसन्धान बिना बालिका शिक्षा र महिला सशक्तिकरणको विषय अधुरो रहने बताउँदै गभर्नर राजभण्डारीले सानो प्रयास स्वरुपै भएपनि प्रत्येक रोटरी क्लवले कम्तीमा १० जना बालिकाको शिक्षाको जिम्मा लिन सकेपनि बालिका शिक्षाको सन्दर्भमा योग्दान पुग्ने बिश्वास आफुले लिएको बताए ।

गर्भनर राजभण्डारीले बिद्यालयमा छात्रामैत्री शौचालयको अभाव पनि एउटा मुल समस्याका रुपमा देखिएको भन्दै प्रत्येक क्लवलाइ छात्राका लागि अनुकूल शौचालय निर्माणका लागि आग्रह गरे । बालिका शिक्षामा गरिने लगानी र व्यक्त गरिने सरोकारको बहुआयामिक प्रभाव हुने बताउदै उनले भने, बालिकाको शिक्षामा गम्भीर बन्न सकियो भने यसले बालबिबाह र बेचविखनलाई समेत निरुत्साहित गर्न मद्दत पुग्नेछ । अशिक्षाकै कारण नेपालका बालिकाहरु बेचबिखनमा पर्ने गरेको तर्फ संकेत गर्दै शिक्षा नै सवैप्रकारका विकृति र विसंगतिको निर्मूल गर्ने अस्त्र भएका कारण पटक पटक आफुले बालिका शिक्षामा जोड दिदै आएको गभर्नर राजभण्डारीको तर्क थियो ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको वर्तमान नेतृत्व एकल भन्दा सामूहिकतामा बिश्वास गर्ने भएकाले कुनैपनि रणनीति निर्माण र क्रियान्यवनका सवालमा पनि व्यापक छलफलपश्चात मात्र निष्कर्षमा पुग्ने गरेको गभर्नर राजभण्डारीको भनाई थियो । रोटरी क्लव अफ रुद्रमतिले रोटरीले निर्धारण गरेका सातै बिधालाई समेटेर काम गरेकोमा धन्यवाद प्रकट गर्दै डिस्ट्रिक्ट सहकार्य र सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखे ।

कार्यक्रममा डिस्ट्रिक्टको नेतृत्वको उपस्थितिलाई लिएर क्लव सदस्यहरुले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि डिस्ट्रिक्टको निरन्तरको सहयोग तथा सदासयताको अपेक्षा गरेको बताए । कार्यक्रममा नयाँ ३ जना सदस्य विपिन सापकोटा, एडवर्ड शाह र सरोज श्रेष्ठलाई क्लवमा स्वागत गर्दै गभर्नर राजभण्डारीले रोटरी पिन प्रदान गरेका थिए ।

कार्यक्रममा थपिएका ३ सदस्य सहित क्लव सदस्यको संख्या ५२ जना पुगेको क्लवका अध्यक्ष किशोर त्रिपाठीले बताए । रोटरी क्लव अफ रुद्रमति काठमाडौं  २००३ डिसेम्बर १७ तारिखमा स्थापना भएको थियो ।