रोटरी क्लव अफ ज्ञानेश्वरले मनायो दोस्रो स्थापना दिवस
काठमाडौं । रोटरी क्लव अफ ज्ञानेश्वरले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिक्ट गर्भनर जितेन्द्र बहादुर राजभण्डारीको प्रमुख आतिथ्यमा क्लवले शुक्रवार आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा पूर्व डिस्ट्रिक्ट गर्भनरहरु, डिस्ट्रिक्ट अफिसियल, विभिन्न क्लवका आमन्त्रित अतिथि तथा रोटरी क्लव अफ ज्ञानेश्वरका सदस्यहरुको उपस्थिति रहेको थियो ।
रोटरी क्लव अफ ज्ञानेश्वर महिला मात्र सदस्य रहेको क्लवका रुपमा रहेको छ । स्थापना दिवसको अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले क्लवले स्थापनाको छाटो समयमै प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । रोटरीमा महिला समावेशीतालाई डिस्ट्रिक्टले क्रमिक रुपमा बढाउदै लगेको उल्लेख गभर्नर राजभण्डारीले गरे । डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानमा ऐसिसेन्ट गभर्नरका रुपमा महिलाहरुको संख्या बढिरहेको तर्फ संकेत गर्दै आगामी दिनमा रोटरीमा महिला नेतृत्व विकास गर्ने सवालमा डिस्ट्रिक्ट गम्भीर रहेको बताए ।
महिलाको सशक्तिकरण नारा मात्र नभएर त्यो व्यवहारिक क्रियान्वयनवाट मात्र सम्भव हुने गभर्नर राजभण्डारीको तर्क थियो । कुनै पनि सशक्तिकरणको पहिलो माध्यम शिक्षा नै हो, महिला सशक्तिकरण पनि शिक्षाबाटै प्रारम्भ हुने हुँदा आफुले बारम्बार प्रत्येक क्लव भ्रमणका क्रममा बालिका शिक्षालाई जोड दिने गरेको बताए । उनले प्रत्येक रोटरी क्लबलाई १० जना बालिकाको शिक्षाको जिम्मा लिन आग्रह गरेको बताउँदै महिला सशक्तिकरणको प्रस्थान बिन्दु बालिका शिक्षा नै भएको उल्लेख गरे । गर्भनर राजभण्डारीले महिला सशक्तिकरण महिलाको शिक्षा, आत्मनिर्भरता र आत्मसम्मानसँग जोडिएको विषय भएकाले महिला शिक्षा सबैको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला गभर्नर जया राज्य लक्ष्मी शाहले नेतृत्वले केबल अनुयायी नभएर नेतृत्व नै उत्पादन गर्न सकेमा मात्र त्यो नेतृत्वलाई सफल नेतृत्व मान्न सकिने बताईन । नेपालमा पनि क्रमिक रुपमा हरेक क्षेत्रमा महिलाको सार्थक हस्तक्षेप बढेकोतर्फ संकेत गर्दै उनले रोटरीमा पनि महिला नेतृत्वको उत्पादनको विषयलाई महत्वका साथ हेरिनुपर्ने बताईन ।
क्लवकी संस्थापक तथा हालकी अध्यक्ष समेत रहेकी रसुमिला श्रेष्ठले स्थापनाको दोस्रो बर्षसम्म आईपुग्दा प्रत्यक्ष या पारोक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै क्लबलाई केहि वर्षभित्रै नयाँ उचाईमा पुर्याउने संकल्प आफुले लिएको बताइन । उनले आउदा दिनमा पनि सवैको उत्तिकै सहयोगको अपेक्षा गरेको बताउँदै भनिन्, मन सफा र संकल्प शक्ति भयो भने स्रोतको अभाव हुँदोरहेनछ, त्यो मैले यो एक वर्षको अवधिमा महशुस गरेकी छुँ । स्थापना दिवसका अवसरमा क्लवले रक्षा नेपाललाई रु २५ हजार र छात्रवृति स्वरुप ज्ञान बिकास आधारभूत विद्यालयका ४ जना छात्राका लागि पाँच हजारका दरले रु २० हजार प्रदान गरेको थियो ।
स्थापना दिवसकै अवसरमा क्वलमा नयाँ ५ जना सदस्यलाई स्वागत गर्दै क्लवका एसिसेन्ट गर्भनरका रुपमा रहेको उमिद श्रेष्ठले इन्डक्सन गराएका थिए भने डिस्ट्रिक्ट गर्भनर राजभण्डारीले रोटरी पिन प्रदान गरेका थिए । क्लव स्थापनामा गहन भूमिका निर्वाह गरेका रोटरियन भरत कुमार श्रेष्ठ रोटरी क्लव अफ ज्ञानेश्वरको न्यू क्लव एडभाईजरका रुपमा रहेका छन् ।
कार्यक्रमको अध्यक्षता क्लवकी संस्थापक अध्यक्ष तथा हालकी अध्यक्ष समेत रहेकी रसुमिला श्रेष्ठले गरेकी थिईन भने कार्यक्रमको संचालन क्लव सेक्रेटरी श्रृष्टी त्रिपाठीले गरेकी थिईन् ।