बौंदीकालीको डेढगाउँलाई वडास्तरीय भलिबल उपाधि, भलायटार दोस्रो हुँदा किसानबारी तेस्रो



नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. २ डेढगाउँको भलिबल टिमले पाल्पामा आयोजित भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । पाल्पाको रामपुर नगरपालिका २ भलायटार सम्पन्न वडा स्तरिय भलिबल प्रतियोगिता फाइनलमा डेढगाउँले भलायटार युवा क्लवलाई ३–२ सेटले पछि पार्दै उपाधी जितेको हो ।

भलायटार युवा क्लवले आफ्नो ११ औं वार्षिक उत्सव तथा चैते दशैंको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, तेस्रो र पाँचौ सेट डेढगाउँले २९–२७, २५–२० र १५–१२ अंक सहित हात पारेको थियो । त्यस्तै भलायटारले दोस्रो र तेस्रो सेट २६–२४र २५–२० अंक सहित हात पारे पनि उपाधिका लागि पर्याप्त रहेन ।

त्यस्तै तेस्रो स्थान भने रामपुर नगरपालिका वडा नं. ७  किसानबारीले हात पारेको छ । तेस्रो स्थानका लागि चापाकोट नगरपालिका ६ मोहमी र रामपुर नगरपालिका ७ किसानबारीबीच भएको खेलमा किसानबारीले २५—१९ र २५–१७ अंकसहित सोझो सेटमा पछि पार्दै तृतिय स्थान हात पारेको खेल संयोजक विजय थापाले बताए । प्रतियोगितामा पाल्पा, स्याङ्जा,  तनहुँ र नवलपुरका ८ समुहको सहभागीता रहेको थियो ।

विजेताहरु प्रथम, द्वितिय र तृतियले क्रमश नगद ६५ हजार, ४० हजार र २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । विजयी समुहलाई राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भएको संगितिक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले स्थानीय स्तरमा रहेका खेलप्रतिभाहरुको उजागर गर्दै राष्ट्रिय तह सम्म पु¥याउन प्रतियोगिताले सहयोग गर्ने बताउँदै विजेतालाई पुरस्कार वितरण गरेका थिए । उनले युवा शक्ति समाज रुपान्तरणको संवाहक भएको बताउँदै समाज परिवर्तन संगै स्वरोजगार सृजना तथा व्यवसायिकतामा लाग्न आग्रह गरे ।

उक्त अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले क्लवले गरेका कामहरु प्रशंसा गर्दै थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका थिए । रामपुर नगरपालिका २ का वडा अध्यक्ष तारा बहादुर थापाले परम्परादेखि नै चल्दै आएको भलायटार मेलाको जगेर्नाको लागि क्लवले ठूलो भुमिका खेलेको बताए ।

उक्त मेलामा राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिकाहरु सुमन थापा मगर, ज्योति लोहनीलगायतको प्रस्तुतिसँगै साइनिङ्ग स्टार डान्स एकेडेमी सराईको नृत्य प्रस्तुत गरिएको थियो । क्लवको भवन परिसरमा भएको कार्यक्रम क्लवका अध्यक्ष सुर्य दर्जीको अध्यक्षता, सचिव केशव थापाको स्वागत र यकिन गुरुङको सञ्चालनमा भएको हो ।