पहिरोमा परि गर्भवती महिलाको मृत्यु, पाँच बेपत्ता



पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ सोही वडाको सुरुमडाँडामा पहिरोले घर भत्किएर पुरिँदा एक गभर्वती महिलाको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी भक्तुजंग रानाले नवनेपालसँग बताए । त्यसका बारेमा विस्तृत जानकारी नआईसकेको पनि रानाले बताए ।

त्यस्तै साेही वडाको फोक्सिङकोट बेलौंजाका होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको रानाले बताए । उक्त स्थान पाल्पाको ताहुँबाट उत्तरतर्फ पर्ने पनि रानाले बताए ।

पहिरोले घर पुरिँदा मानिस बेपत्ता भएको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोलीसहीत आफू त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घटनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए।