डोलेश्वर मन्दिर सर्वसाधारणका लागि बन्द, नित्यपूजा मात्रै हुने



भक्तपुर । भक्तपुरको डोलेश्वर मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पछिल्लो समयमा उपत्यकामा बढ्दै गइरहेको कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय भक्तपुरले धार्मिकस्थलहरुमा सर्वसाधारणका लागि लगाएको रोकका कारण बन्द गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

समितिले पछिल्ला दिनमा कोभिड–१९ भाइरस दिनप्रतिदिन भयावह रुपमा फैलिँदै गएकोमा मन्दिरमा पूजारीको नित्यपूजा बाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाउने प्रशासनको निर्णयअनुसार सर्वसाधारणको मन्दिर प्रवेशमा रोक लगाएको जनाएको छ ।

केदारनाथको शिर मानिएको डोलेश्वर महादेवको मन्दिरमा विशेष गरी साउनको सोमबार भक्तजनहरुको उल्लेख्य

उपस्थिति हुने गरेको थियो । उक्त मन्दिर परिसरमा यसअघिका सोमबार र शनिबार सूर्यबिनायक नगरपालिकाका स्थानीय युवा एवं विभिन्न संस्थाहरुले कोरोना महामारीबाट बच्नका लागि मास्क र स्यानिटाइजर वितरण गर्दै आएका थिए ।

पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि उपत्यकाका तिनै जिल्लाका प्रशासन कार्यालयहरुले धार्मिक गतिविधिमा सर्वसाधारणको प्रवेशमा रोक लगाउँदै थप कडाइ गर्ने निर्णय गरेको थियो ।