एन्ड्रोइडमा समस्या, फोन आफैं क्र्यास हुन थाले
काठमाडौं – एन्ड्रोइड फोन प्रयोगकर्ताले फोन आफैं क्र्यास हुने समस्या भोग्न थालेका छन् । बिना कुनै कारण फोन क्र्यास हुने समस्या विभिन्न रेन्जका फोनमा देखिएको छ । यसरी फोन क्र्यास हुन थालेसँगै प्रयोगकर्ताले गुगलमा रिपोर्ट गरिरहेका छन् ।
यो समस्या विशेषगरी एन्ड्रोइड फोन खरिद गर्दा मोबाइलमै उपलब्ध हुने एपहरुमा देखिएको छ । प्राप्त जानकारीअनुसार यो समस्या सामसङका साथै गुगलको आफ्ने पिक्सेल फोनमा पनि देखिएको छ । जसमा प्रयोगकर्तालाई ‘गुगल किप्स स्टपिङ‘ भन्दै एप बन्द गर्न लगाएको जनाइएको छ ।
यस्ता खालका समस्या स्मार्टफोनमा देखिएसँगै गुगलले फोनलाई सफ्ट रिबुट गर्न आग्रह गरेको छ, जुन प्रयोगकर्ताले पावर बटनलाई ३० सेकण्ड क्लिक गरेसँगै हुने जनाइएको छ । यसो गर्दा केही प्रयोगकर्ताको समस्या समाधान भएको जनाइएको छ भने, कतिपयले अझै समस्या झेलिरहेका छन् ।
यसकाे अर्को अप्सन भनेको गुगल एप बेटामा जोडिनु हो, जहाँबाट तपाईंले तत्कालै नयाँ भर्सन डाउनलोड गर्न सक्नुहुनेछ । यसअघि गएको मार्चमा पनि एन्ड्रोइडमा यस्तै खालको समस्या आएको थियाे । त्यसबेला फोन स्टार्ट हुने बित्तिकै क्र्यास हुने समस्या थियो ।