बच्चन बाबुछोरा अझै एक साता अस्पताल बस्ने, दुवैको स्वास्थ्यमा सुधार
मुम्बई । भारतीय अभिनेता अमिताभ र नायक अभिषेक बच्चन एक सातासम्म अस्पताल बस्नुपर्ने भएको छ । कोरोना संक्रमण पोजेटिभ देखिए पनि अमिताभ बच्चन र नायक अभिषेक बच्चन गत शनिबार नानावती अस्पतालमा भर्ना भएका थिए ।
तीन दिनको अस्पताल बसाईपछि अहिले अमिताभ र अभिषेक बच्चनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । डाक्टरका अनुसार उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको छ तर पनि पूर्ण रुपमा निको हुनका लागि एक सातासम्म अस्पतालमा नै बस्नुपर्ने जनाइएको छ ।
पीटीआईका अनुसार, दुवैको स्वास्थ्यस्थितिमा सुधार भईरहेको छ र औषधीले पनि राम्रोसँग काम गरिरहेको उनीहरुको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।
पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएसँगै बच्चन परिवारमा पनि कोरोना देखिएको थियो । कोरोनाका कारण बच्चन परिवारकै बुहारी एवं पूर्व विश्वसुन्दरी एवं नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चन पनि संक्रमित भएका थिए । तर, एकै परिवारकी सदस्य अभिनेत्री जया बच्चनको भने रिपोर्ट नेगेटिभ आएको थियो ।