बलिउड महाराथी बच्चनसमेत परिवारका चार जनालाई कोरोना संक्रमण



मुम्बई । बलिउड महानायक अमिताभ बच्चन परिवारका चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार साँझ अमिताभ बच्चन र उनका छोरा नायक अभिषेक बच्चनमा कोरोना पुष्टी भएको थियो । पहिलो परिक्षणमा नेगेटिभ देखिएको बलिउड सुन्दरी एवं अभिषेक पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो दिनमा कोरोना संक्रमण तीब्रगतिमा फैलिइरहेको बेला बलिउडका दिग्गज परिवारमा देखिएको संक्रमणबाट बलिउड क्षेत्र शस्त्र बनेको छ ।

परिवारका सबै सदस्यलाई कोरोना देखिए पनि अमिताभ पत्नी एवं अभिनेत्री जया बच्चनको भने कोरोना नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

भारतमा कोरोना संक्रमण तीब्रगतिमा फैलिएसँगै बलिउडका चलचित्रकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको तोपेले जानकारी दिएका छन्।

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।

त्यससँगै बलिउड अभिनेता अनुपम खेरका आमा, दाजुभाउजुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अभिनेत्री रेखाको घरमा काम पर्ने सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएपछि उनको घर पनि सिल गरिएको छ ।