तनहुँको बैंडीमा थपिए ६ संक्रमित, यससँगै गढीका १० जनामा कोरोना पुष्टी



तनहुँ । तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ बैंडीस्थित गढीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसअघि चार जनामा कोरोना पुष्टी भएकोमा मंगलबार आएको रिपोर्टअनुसार थप ६ जनामा कोरोना पुष्टी भएको हो । थप पुष्टी हुनेमा यसअघि पुष्टी भएका घरका दुई जना र अर्को एउटै घरका ३ जना र एकजना अर्कै घरकी युवती रहेका छन् ।

पछिल्ला दिनमा कोरोना लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएका धेरै बिरामी रहेको गढीमा भित्रभित्रै कोरोनाको संक्रमण फैलिएको अनुमान छ । पहिलोपटक विवाहमा गएर फर्किएकी महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसअघि सोमबार बैंडीकै कोरोना लक्षणदेखिएका एक पुरुषको पाल्पाको रामपुरमा मृत्यु भएको थियो । ती पुरुषमा कोरोनाको लक्षण देखिएता पनि मृत्युपछी एन्टीजेन जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि स्थानीय र पारिवारिक सदस्यहरुले निजको दाहसंस्कार गरेको जनाइएको छ । मृतकमा कोरोनाको लक्षण देखिएकोले थप संक्रमणको त्रास फैलिएको पनि दाहसंस्कारमा संलग्न एक स्थानीयले बताए ।