२१ करोडमा बन्दै गरेको पक्की पुल भत्कियो



चितवन – तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको २१ करोड लागतको पक्की पुल भत्किएको छ ।
पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले बताए । उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भाग समेत भत्किएको छ ।

पुलको एक खण्डमा ट्रसको काम भइरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

सोमवार पूर्वी नेपालमा गएको भूकम्पको साधारण धक्काले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधिकारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भने, ‘तर दुर्भाग्य यस्तो भयो ।’

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक-पटक विरोध गर्दै आएका छन् । सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पुर्‍याइएको छ ।

डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।

ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालय समेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेकोबारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइसक्नु पर्ने थियो ।