

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सम्पन्न भएको छ । समितिका सभापति रामहरि खतिवडाको अध्यक्षतामा सम्पन्न बैठक मुख्य रुपमा अघिल्लो साता राजधानीको तीनकुनेमा भएको विध्वंसकारी घटनामा केन्द्रीत रहेको थियो ।
बैठकमा सो घटनाबारे छलफल गरि विभिन्न निर्णय गर्दै सरकारलाई विभिन्न निर्देशन दिएको छ ।
समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
काठमाडौंको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरुले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक खेदप्रकट गर्दछ। उक्त घटनाका दोषीहरु उपर आवश्यक छानविन गरी कानूनी कारवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ।
त्यसैगरी काठमाको तीनकुने र आसपासको स्थानमा अब आइन्दा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ।
त्यस्तै बैठकले चैत्र १५ गते घटेको उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरुमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
साथै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहोरिनवाट रोक्न एवम् संविधान, कानून एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि वढ्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गरेको समेत सभापति रामहरि खतिवडाले जनाए ।