

एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन् । मंगलबार नेकपा एमालेतर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले सामूहिक रुपमा राजीनामा दिएका हुन् । उनीहरु तीनै जना नेपाल-खनाल पक्षका नेता हुन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन एमालले यसअघि नै फिर्ता लिइसकेको थियो । तर, एमालेकै नेपाल खनाल पक्षले भने असहमति जनाएको थियो । तर, आइतबार नेपाल खनाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्ने निर्णय गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन नगर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि आज तीनै मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
योसँगै मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन चुनौति थपिएको छ । ३९ सदस्यीय प्रदेश सभामा एमालेका (सभामुखसहित) २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । ३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ। एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुन्छन् ।