कोरोनाविरूद्धको ८ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो



काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना खोप साेमबार काठमाडौँ आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी छन् ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले साेमबार बिहान उक्त परिमाणको खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।