

चीनबाट थप १० लाख डोज भेरोसेल आउँदै, २४ गते नेपाल एयरलाइन्स चीन जाँदै

काठमाडौं । नेपाल सरकारले चीनबाट १० लाख डोज कोरोना भाइरसविरूद्ध लगाइने खोप ल्याउने भएको छ। उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।
नेपाल वायुसेवा निगमले बिहीबार खोप लिन चीन जाने गरी तयारी गरिएको जनाएको छ । खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने पनि निगमले जनाएको छ । चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।
नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।
चीनबाट अब आउने खोप भने सरकारले खरिद गरेको हो। यसअघि भने भारतबाट २० लाख डोज खोप किनिएको थियो। जसमध्ये १० लाख डोज खोप अझै आएको छैन। भारतबाट थप खोप आउने सम्भावना नदेखिएपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेको थियो। सोही अन्तर्गत १० लाख डोज खोप आउन लागेको हो।
यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ। जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ। उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ।