त्रिभुवन माविलाई भुसाल परिवारले साउन्ड सिस्टम, शंकरपोखरी स्वास्थ्य चाैकीलाई ल्यापटब र ट्याब

पर्वत । पर्वतको फलेबासस्थित त्रिभुवन मावि र शंकरपाेखरी स्वास्थ्य चाैकीलाई स्थानीय भुसाल परिवारले  स्वर्गीय श्रीमान् तथा पिताको स्मृतिमा विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् ।

फलेबास नगरपालिका वडा नं. ३ शंकरपोखरी निवासी स्वर्गीय जुक्ति बल्लभ भुसालको स्मृतिका अवसरमा उनकी श्रीमती र छोराहरुले त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि साउण्ड सिस्टम र स्वास्थ्य चाैकीलाई ल्याबटप र ट्याब प्रदान गरेका हुन् ।

स्वर्गीय भुसालकी श्रीमती नैनादेवी भुसालसहित छोराहरु मिलन भुसाल, झलक शर्मा भुसाल, चन्द्रदत्त भुसाल, रामप्रसाद भुसाल र विजयराज भुसालमार्फत् विद्यालयलाई साउण्ड सिस्टम हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा प्रधानाध्यापक हरिप्रसाद तिवारीले भुसाल परिवारले गरेको उक्त सहयोगबाट विद्यालयले गर्ने शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै भुसाल परिवारप्रति आभार व्यक्त गरेका थिए । प्रधानाध्यापक तिवारीले थपे, ‘विद्यालयको गुणस्तरीय शैक्षिक अभियानलाई थप प्रभावकारी र सफल बनाउने उद्देश्यका साथ विद्यालयका शैक्षिक गतिविधिमा सहकार्य स्वरूप एक महत्वपूर्ण सहयोग प्राप्त भएको छ ।’

साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले स्वर्गीय भुसालले जीवनकालमा विद्यालयको गुणस्तर सुधारका लागि गरेको कार्यको स्मरण गर्दै जीवन पर्यन्त परिवारजनले गरेको योगदानबाट विद्यालयको गुणस्तर सुधारका लागि दिनरात आफू खटिनका लागि प्रेरणा मिलेको बताए ।

कार्यक्रममा फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारी र वडा नं. ३ का वडाध्यक्ष अर्जुन बहादुर कार्कीले दाता परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साथै सोही कार्यक्रममा भुसाल परिवारले शंकरपोखरी स्वास्थ्य चौकीलाई एक ल्यापटब र ट्याब पनि हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा मेयर तिवारीले भुसाल परिवारले शंकरपोखरीबासीको शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्दै प्रदान गरिएको उक्त सामाग्रीलाई सही ढंगले प्रयोग गर्नका लागि विद्यालय र स्वास्थ्य चौकीलाई अनुरोध समेत गरे ।  साथै मेयर तिवारीले एउटा परिवारले सामाजिक सेवाका लागि करिब डेढ लाख रुपैयाँ बराबरको सहयोग गर्नु अन्यका लागि पनि प्रेरणा बन्न सक्ने बताए ।

साथै वडाध्यक्ष कार्कीले पनि भुसाल परिवारले यसअघि पनि विद्यालयको हितका लागि गरेका कार्यको प्रशंसा गर्दै दिवंगत जुक्ति बल्लभ भुसालको स्मरण समेत गरेका थिए ।

उक्त अवसरमा भुसाल परिवारका तर्फबाट दिवंगत भुसालका छोरा राम भुसालले विद्यालय र स्वास्थ्य चौकीलाई सहयोग गर्ने वातावरण जुटाइदिएकोमा नगरप्रमुख, वडाध्यक्ष, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका साथै विद्यार्थी र अन्य शिक्षकहरुलाई धन्यवाद समेत दिए । भुसालले परिवारका तर्फबाट सानो भए पनि शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न पाएकोमा सन्तोष मिलेको समेत बताए ।

विद्यालयले भुसाल परिवारबाट प्राप्त उक्त साउण्ड सिस्टमले प्रार्थना सभा, शैक्षिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप तथा विभिन्न औपचारिक कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उक्त सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *