

रोटरी इन्टरनेशनल ३२९२ को ‘डिस्ट्रिक्ट लर्निङ सेमिनार’ सम्पन्न
एकैदिन ५० हजार विरूवा रोप्ने डिजी इलेक्ट कोइरालाको प्रतिबद्धता

काठमाडौं । रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट लर्निङ सेमिनार सम्पन्न भएको छ । ललितपुरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आयोजना सम्पन्न सेमिनारमा देशभरका क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको आरआई डाइरेक्टर एम मुरुगानन्दम एम. र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का वर्तमान डिस्ट्रिक्ट गर्भनर राजेन्द्रमान शेरचनले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा रोटरियन रमा कँडेलले सेमिनारका सहभागीहरुलाई स्वागत मन्तव्य दिएकी थिइन् ।
त्यस्तै रोटरियन शेरचनले कार्यक्रमको लक्ष्य र आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा प्रकाश पारेका थिए । उनले नेपालका रोटरी क्लबहरुमा ग्लोबल ग्रान्टका लागि केही हदसम्म कानुनी झन्झट रहेको जनाउँदै समाज कल्याण परिषद्सँग समन्वय गरेर सहज बनाउनका लागि आफूले पहल गरेको समेत जनाए ।
त्यस्तै शेरचनले प्लास्टिक मुक्त मुस्ताङको परिकल्पनाका साथ कार्यक्रम आयोजना गरिने समेत जनाए ।
त्यस्तै उनले नेपालमै पहिलोपटक फन्ड रेजिङका लागि विशेष कार्यक्रम आयोजना गर्न लागिएको पनि जनाए । उनले उक्त कार्यक्रममा कुटुम्ब ब्याण्ड र गायक दिपक बज्राचार्यको प्रस्तुती रहने समेत जनाए ।
कार्यक्रममा प्रमुख अतिथि RI डाइरेक्टर मुरुगानन्दमले रोटरियनहरुले गर्नुपर्ने कर्तव्य र दायित्वका बारेमा प्रकाश पार्दै रोटरीका माध्यमबाट यस जुनसुकै काम पनि गर्न सकिने जनाए ।
कार्यक्रममा २०२५–२६ का डिजि एवं हालका डिजि इलेक्ट विनोद कोइरालाले आफ्ना भावी योजनाका बारेमा प्रकाश पारेका थिए । कोइरालाले रोटरी सञ्चालनका लागि सदस्यताको वृद्धि गर्नु पहिलो प्राथमिकता भएको बताउँदै विभिन्न सामाजिक कार्यहरुका फेहरिस्त समेत प्रस्तुत गरेका थिए । उनले विद्यालयस्तरका बालबालिकालाई सहयोग पुग्ने हेतुले विद्यालय केन्द्रीत कार्यक्रम ल्याउन क्लबहरुलाई अनुरोध समेत गरे । साथै कोइरालाले यही जुलाई २६ का दिन देशभर रोटरी क्लबको पहलमा ५० हजार विरुवा रोप्ने कार्यक्रम समेत रहेको जनाए ।
कोइरालाले २०२५–२६ सम्ममा देशभर ३०० रोटरीका नयाँ सदस्य थप्ने र ५ वटा रोटरी क्लबहरु थप्ने लक्ष्य रहेको समेत जनाए । त्यस्तै उनले रोटरी एक्सचेन्ज कार्यक्रम पनि आफूले प्राथमिकतामा राखेको जनाए ।
कार्यक्रममा रोटरियन लक्ष्मी थापा गिरीले आगामी फेब्रुअरी १९–२१, २०२६ मा पोखरामा १८औं डिस्ट्रिक्स कन्फ्रेन्सको आयोजना गर्न लागिएको समेत जनाइन् । उनले त्यसका लागि रोटरियनहरुलाई रजिष्ट्रेसनका लागि समेत आग्रह गरेकी थिइन् ।
सेमिनारमा विभिन्न सत्रहरु पनि सम्पन्न भएको थियो । त्यसका लागि विभिन्न रोटरीका विज्ञहरुले सहभागीहरुलाई प्रशिक्षण पनि दिएका थिए । उक्त अवसरमा क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, कोषाध्यक्ष, क्लब एडमिन्, मेम्बरसिप, पब्लिक इमेज, टिआरएफ, सर्भिस प्रोजेक्ट र सर्जेन्ट एट आर्मस्हरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रम उनीहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिने उद्देश्यसहित सञ्चालन गरिएको थियो ।
त्यसका साथै रोटरीको एप सञ्चालन र अनलाईन प्रयोगबारे पनि जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा डिजि इलेक्ट कोइरालाले यस किसिमको कार्यक्रमले रोटरियनहरुलाई पक्कै पनि सार्थकता दिएको आशा गर्दै आगामी दिनहरुमा रोटरीको मान्यता र सीमाभित्र रहेर अघि बढ्न समेत अनुरोध गरेका थिए ।