आज देशैभर प्रदर्शन गर्दै कांग्रेस, देउवाले बुटवलमा सम्बाेधन गर्ने



काठमाडौंँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीकेपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।