मिस नेवाः को ट्यालेन्ट शोमा प्रतियोगीले देखाए लुकेका प्रतिभा



काठमाडौं । १७ वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा ः नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले प्रतिभा प्रदर्शन गरेका छन् ।

नेपाल टेलिकममिस नेवाः नेपाल ११४१ का रुपमा हुने प्रतियोगिताका प्रतियोगीले कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट शोमा आ आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् । ट्यालेन्ट शोमा प्रतियोगी नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कवितावाचन, वक्तृत्वकला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मनीका खड्गीले कुमारी नृत्य देखाएकी थिइन् ।

त्यसै गरी रुचिका तण्डुकारले राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेकी थिइन् भने कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य प्रस्तुत गरेका थिए । पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले वाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोज कुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेका थिए ।

मिस नेवाःको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः नेपालअन्र्तगतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपाधिका लागि ट्यालेन्ट शो आयोजना गर्ने गरिएको बताइन् । उनका अनुसार ट्यालेन्ट शोमा प्रतियोगिहरुले प्रस्तुत गरेको प्रतिभाका आधारमा मिस नेवाः नेपाल ट्यालेन्टेड चयन गरिने तथा सो उप–उपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन घोषणा गरिनेछ ।

ट्यालेन्ट शो आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो।

नेप्लीज फेसन होमले नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्र्तगत हरेक वर्ष मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ । यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् । उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको आयोजक हेमा मानन्धरले जानकारी गराइन् । नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपालका अलावा नेवार बालिकाका लागि लिटिल मिस नेवाःआयोजना गर्दै आएको छ । मिस नेवाः नेपाल ११४१ रोजिन शाक्य र सुनीता डंगोलको कोरियोग्राफीमा सम्पन्न हुने जनाइएको छ ।