मल्टिट्यालेन्ट प्रकाश सपुत

प्रकाश सपुत । देश तथा विदेशका नेपालीको मनमुटुमा बस्न सफल नाम । सिर्जनाका हरेक पारखीहरुका लागि डाहलाग्दो नाम । जुन क्षेत्रमा लाग्छन् अब्बलै भएको सुनिने नाम । सिर्जना उनको प्रमुख कर्म, चाहे त्यो गीत होस्, संगीत होस् वा अन्य कुनै विधा ।

रेडी जक्की अर्थात् आरजेबाट सुरु गर्दै समाज अनि देशमा सुनिन थालेका प्रकाश आजभोली गीत संगीतबाट देश अनि विदेशमा सुनिन थालेका छन् । नेपाली संगीत एवं सांगीतिक क्षेत्रमा चासो राख्ने हरेक व्यक्तिले, अँ… सुनेको छु भन्ने बनाउन सफल प्रकाश पछिल्ला दिनमा झन् अन्य विधामा समेत सुनिन थालेका छन्, देखिन थालेका छन्, हेरिन थालेका छन् अनि खोजिन थालेका छन् ।

सबै किसिमको काँचको पर्दामा छाउने प्रयासमा लागेका प्रकाशले धेरै क्षेत्रमा हात हाल्दा ‘केही न केही’ भइन्छ कि भन्ने त्राससहित अगाडि बढीरहेका देखिन्छन् । तर, उनले अहिलेसम्म चालेका पाइला वा रोजेका क्षेत्रमा त्यस्तो भोग्नु परेको छैन । चाहे, त्यो निर्देशकीय क्षेत्र होस्, निर्माताको रुपमा होस्, वा अन्य कुनै । अब बाँकी छ, आगामी दशैंको बेलामा सार्वजनिक हुने उनको ठूलो पर्दा अर्थात् चलचित्रमा ‘हिरो’को भूमिका ।

आरजेबाट सुरु गरेको ग्लामरस जीवन गीत, संगीत, निर्देशकीय, निर्माताको भूमिका हुँदै चलचित्रमा अभिनयका साथ अघि बढाइरहेका प्रकाशका सिर्जना हरेक नेपालीका माझ अमिट छाप छाड्न सफल भएका छन् ।

नेपालको लोकसंगीतको उर्बरभूमी गण्डकीको बाग्लुङमा जन्मेका प्रकाशको पञ्चेबाजामा आधारित ‘माकुर माकुर घुर’ गीत हरेक विवाहमा बज्ने गीत बन्न सफल भएको थियो भने, ‘बोलमाया’ बोलको गीत हरेक नेपालीको आँशु बगाउने गीत बनेको थियो । एकान्तमा बसेको उनको ‘बोलमाया’ गीत सुन्दा आँशु नबगाउने नेपाली शायदै कोही होला, जसमा उनको अभिनय अहिलेसम्म पनि उनकी पत्नी बिन्दुले हेर्न सकेकी छैनन् । उनको यही गीतलाई नेपाली सांगीतिक क्षेत्रका बरिष्ठ एक संगीतकर्मीले ‘यदि कोही व्यक्ति बोलमाया सुन्दा रुँदैन भने, त्यो हृदय नै नभएको मानिस हो,’ भनेबाट नै स्पष्ट हुन्छ ।

दोहोरी भन्नेबित्तिकै पहाड, गाउँ एवं दूर दराजका क्षेत्रका बुढापाकाले मात्र सुन्ने गीत हो भन्ने मनोभावनालाई चिर्ने क्रममा उनले दोहोरी ब्याटल ल्याएर गलत सावित गरिदिए । जसले गर्दा ओठ निचोर्दा दूध आउने ठिटीदेखि लिएर उल्टो क्याप लगाएर पंकी स्टाइलमा हिँड्ने टिनएजरसम्मलाई दोहोरी सुन्न बाध्य बनाए । त्यो श्रेय प्रकाशलाई नै जान्छ, जसले युवा पुस्तामा दोहोरी चिनाए ।

सिर्जनाबिना बस्न नसक्ने प्रकाशको अर्को सिर्जना जन्म्यो ‘गलबन्दी’ । जुन नेपाली सांगीतिक क्षेत्रमा एउटा कोशेढुंगा सावित हुन पुग्यो, हरेक नेपालीले दर्जनौं पटक सुन्ने गीत बन्यो, हरेक बिवाह, उत्सवहरुमा बज्ने गीत बन्यो, नाच्ने गीत बन्यो । जुन अहिलेसम्म युट्युवमार्फत साढे चार करोड भन्दा धेरै दर्शक पाएको छ ।

युवापुस्तालाई लोकसांगीतिक बजारको भोक मेटाउन फेरी दोहोरी ब्याटल ल्याए, त्यसले पनि पछि फर्केर हेर्नुपरेन । त्यसपछि प्रकाशले ल्याए– ‘बदला बरिलै’ । जुन नेपाली समाजमा घट्ने गरेको वास्तविकतलाई पर्दामा देखाउने माध्यम बन्यो । जुन गीत जीवनमा केही गर्छु भनेर अगाडि बढ्न खोज्ने हरेक महिलालाई सोच्न बाध्य बनाउने गीत बन्यो । अनि कतिपय नेपाली चेलीहरुको वास्तविकता देखाउने गीत बन्यो । जुन प्रकाशको सिर्जनात्मक क्षमतालाई प्रश्न उठाउनेहरुलाई जवाफ दिन पर्याप्त बन्यो ।

समाजमा बसेपछि सामाजिक उत्तरदायित्वलाई पूर्ण बहन गर्न पनि सफल देखिएका छन् प्रकाश । जसले करिब ८/९ महिना कोरोना महामारीका कारण लकडाउन भोग्न नेपालका नेपालीसँगै विदेशका नेपालहरुमा ‘नमस्कार’ लिएर आए । जुन गीत उनको व्यावसायिक जीवनमा खासै सफल नभए पनि सामाजिक उत्तरदायित्वको भावनाबाट ओतप्रोत प्रष्ट रुपमा देखिन्थ्यो ।

अनि प्रकाशले ल्याए, ‘फुटेका चुरा’ । जुन बन्यो नेपाली चलचित्र क्षेत्रकी मोस्ट ब्यूटीफूल नायिका नम्रता श्रेष्ठको ‘लोकगीत डेब्यू’ भिडियो ।

एउटा १०/१५ मिनेटको गीतमा पूरा चलचित्रको झल्को देखाउन सक्ने क्षमताका साथ प्रकाश बजारमा आउँछन् । उनको कुनै पनि सिर्जना हेर्दा एकपटक पनि बिचमै छाडूँ जस्तो नबनाउनु उनको क्षमता हो ।

उनकै भनाई, ‘पहिलो उद्देश्य जीवनलाई कलरफुल बनाउनु हो,’ बाट पनि पुष्टी हुन्छ, उनी एक विधामा मात्र अल्मलिने व्यक्ति होइनन्, कलाकार होइनन्, जसले एउटा मीठो सपनापछि सन्तुष्ट हुन्छ, उनी हरेक मीठो सपनापछि अर्को अझ मिठो सपनाका भोका देखिन्छन्, सपना खोज्न थाल्छन्, अनि पाउँछन् मीठो फल ।

पछिल्ला वर्षहरुमा लोकसंगीतसँग सम्बन्धित अवार्डहरुबाट पुरस्कृत बन्न सफल उनका सिर्जनासँगै पछिल्लो समय उनी पनि पुरस्कृत भएका छन्, मल्टिट्यालेन्ट कलाकारका रुपमा । नेशनल ब्राण्ड म्युजिक अवार्डले नोमिनेसनमै नराखी मल्टिट्यालेन्ट कलाकारको अवार्डले सम्मान ग¥यो, जुन अहिलेसम्म देखिएका प्रकाशले पारेका आप्mनै ‘प्रकाश’को एउटा अमूल्य उपहार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *