नेपाली सेनामा १७ वर्ष काम गरेका प्रितमले गुमाए विदेशी भूमिमा ज्यान



स्याङ्जा । नेपाली सेनामा १७ वर्ष सेवा गरेका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलो स्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ ।

कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।

प्रितम सेनाको जागिरपछि रोजगारीका लागि अफगानिस्तान गएर एक वर्ष काम गरी गत साउनमा नेपाल फर्किएर नयाँ राहदानी बनाएर रुस गएका थिए ।

अफगानिस्तानबाट फर्किएपछि २० दिनजति घरमा बसेका प्रितमका काकाका छोरा राजेश कार्कीले बताए । प्रितमका अन्तिममा अनुहार समेत हेर्न नपाएकोमा परिवार निकै पीडामा छ । श्रीमती अर्धचेत छिन् भने बूढा बुवाआमासमेत मुर्छामा छन्, राजेशले भने ।

प्रितम परिवारको एक्लो छोरा थिए । घटना भएको दिन नोभेम्बर १५ को रातिसम्मै परिवारसँग सम्पर्कमा रहेका कार्की तालिम केन्द्रमै रहेका र अवस्था सामान्य रहेको बताउँदै आएका थिए ।

बाहिर भनेजस्तो डराउनुपर्ने अवस्था छैन भनेको केही समयमै घटना भएको राजेशले बताए । नेपाली सेनाबाट अवकाश लिएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रितमका बुवा हरि बहादुरको जोड थियो । तर आफू रोजगारीका लागि जाने बताएपछि परिवारको केही चलेन ।

मङ्सिर १० अर्थात् नोभेम्बर २४ मा मात्रै यस्तो घटना भएको जानकारी पाएको परिवारले जनाएको छ । प्रितमको ठुलो छोरा कक्षा ५ र सानो छोरा नर्सरीमा अध्ययनरत छन् । बुवा हरि बहादुर कार्की पनि नेपाल प्रहरीबाट अवकाशप्राप्त हुन् । –गोरखापत्र