प्रचण्ड परिवारको गोरखासँग जोडियो पारिवारिक नाता, भरतपुर मेयर रेणुकी छोरीको अर्थशास्त्री विज्ञानसँग इन्गेजमेन्ट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवं भरतपुर महानगरकी मेयर रेणु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी हुन् ।

रेग्मी अर्थशास्त्रका विद्यार्थी हुन् । उनी हाल स्विजरल्यान्ड बस्दै आएका छन् । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट एमएस्सी अध्ययन गरेका थिए भने अहिले स्विजरल्याण्डस्थित Swiss Federal Institute of Technology (ETH Zurich) बाट पीएचडी गर्दैछन्।

युवाअवस्थामै विश्वका धेरै मुलुकहरूमा अर्थशास्त्रीका रूपमा सहभागी भइसकेका रेग्मी बेलायतभन्दा अगाडी अमेरिकाको डुके विश्वविद्यालयमा पनि अध्ययन गरेका थिए । देशको आर्थिक विकासका लागि भिन्न स्थानबाट आवाज उठाउँदै आएका रेग्मीले केही समयअघि ‘पडकास्ट’ पनि चलाएका थिए ।

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् ।

गत आम निर्वाचनमा चितवन छाडेर गोरखा रोजेका प्रचण्डको परिवारको अबदेखि गोरखासँग पारिवारिक नाता पनि जोडिने भएको छ ।