सशस्त्रका गोपीचन्द्रले जिते नेपालगञ्ज म्याराथनको उपाधि, सेनाका खड्का दोस्रो



बाँके । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । पार्कीले दोस्रो पटक नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । उनले यसअघि छैटौँ संस्करण जितेका थिए ।

पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका छन् । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारेका छन् । गतवर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधि जितेका खड्काले यसपालि २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका छन् ।

सातौँ संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेका थिए । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौँ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौँ र अजय विके आठौँ भएका छन् ।

म्याराथनको उपाधि जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार पाएका छन् । चौथो भएका विष्टले २५ हजार, पाँचौँ भएका जोशीले १५ हजार, छैटौँ भएका बस्नेतले १० हजार, सातौँ भएका बुढा र आठौँ भएका विकेले ५/५ हजार पुरस्कार पाएका छन् ।