सशस्त्र जवान उषाले गुमाइन् पेप्सीकोला दुर्घटनामा ज्यान, अर्की सशस्त्र जवानसहित १३ जना घाइते 



काठमाडौं । राजधानीको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइतेमध्ये एक जनाको निधन भएको छ ।

पेप्सीकोलामा आइतबार बिहान  दुर्घटनामा सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।

स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । उनीसँगै स्कुटरमा सवार अर्की सशस्त्र जवान स्वस्थानी खड्काको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जना एउटै स्कुटरमा चढेर ड्युटी जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ ।

जडिबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा३ख ४८४८ नम्बरको बसले बा६च ५३४२ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । ती मध्ये उषाको निधन भएको हो ।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ५ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।