भट्टराईको अध्यक्षतामा एड्राडमा नयाँ नेतृत्व, संस्थालाई मजबुद रुपमा अगाडि बढाउने प्रतिबद्धता



ललितपुर । अपांगता अधिकार र विकासका लागि क्रियाशिल नेपाल (एड्राड)मा नयाँ नेतृत्व आएको छ । ललितपुरमा शनिबार आयोजित १५ औं वार्षिक साधारणसभा एवम् छैटौं महाधिवेशनले सुगम भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा रामप्यारी कार्की, महासचिवमा डा. वीरेन्द्रराज पोखरेल जो संस्थाका कार्यकारी निर्देशक समेत रहेका छन, सचिवमा कुशल न्यौपाने, कोषाध्यक्षमा मनिषा पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा रम्मी अमात्य, वृन्दा रञ्जीत, शिवप्रसाद अर्याल र अभिभावकको तर्फबाट लक्ष्मी देसार र क्षेत्रगत तर्फबाट झापाकी मनमाया तिमिल्सिना चयन भएकी छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक डा.वीरेन्द्रराज पोखरेलले एड्राड नेपालको स्थापनकाल निकै संघर्षपूर्ण रहेको स्मरण गर्दै संस्थागत यात्राका क्रममा आएका विविध जटिलता एवं आरोपहरुलाई चिर्दै एड्राड नेपाल अविराम रुपमा अगाडि बढिरहेको बताएका थिए । संस्थाले दृष्टिसम्बन्धि अपाङ्गता भएका नागरिकका लागि पहुँयुक्त सूचना प्रविधिको विस्तार डेजी लगायत अनलाईन लाइब्रेरीको विकास र विस्तारमा योग्दान पुरयार्उदै आएको पोखरेलले सो अवसरमा बताएका थिए ।

पोखरेलले अपांगता भएका नागरिकको अधिकार सम्बन्धी महासन्धि(यूएन सीआरपीडी) अनुमोदनका सन्दर्भमा राज्यसंयन्त्र एवं अन्य सरोकारवालालाई यूनसिआरपीडी अनुमोदनको आवश्यक्ता बुझाउन पनि एड्राड नेपालले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका थिए । एड्राड नेपालले सवै प्रकारका अपाङगता भएका नागरिकको सशक्तिकरणमा काम गर्ने लक्ष्य राखेको पोखरेलको भनाई थियो ।

नेपालमा अपाङ्गता समावेशी विकासको अवधारणको  अवलम्बन, विकास, विस्तार र क्रियान्वयनका सन्दर्भमा संस्थाले विगतदेखि नै पैरवी गर्दै आएको बताउँदै निर्देशक डा.पोखरेलले संस्थाले तिनै तहका सरकार तथा अन्य अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाका लागि विषय विज्ञ संस्थाको भूमिका समेत निर्वाह गरिरहेको बताएका थिए ।

तस्बिरः एड्राड नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक डा.वीरेन्द्रराज पोखरेल कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्छ ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले एड्राडले नेपाली अपाङ्गता आन्दोलनमा पुरयाएको योग्दान उल्लेखनीय रहेको बताए । उनले अपांगताको भएका नागरिकको क्षमता विकासमा संस्थाले खेलेको रचनात्मक भूमिका स्मरणयोग्य रहेको भन्दै नेपाली अपाङ्गता आन्दोलनका क्रममा प्राप्त उपलब्धिका सन्दर्भमा संस्थाका निर्देशक तथा महासंघका पूर्व अध्यक्ष समेत रहेका अधिकारकर्मी डा वीरेन्द्र राज पोखरेलको व्यक्तित्व, विचार र मार्गदशनको अहं भूमिका रहेको बताएका थिए । आर्चायले अपांगता भएका व्यक्तिका लागि पहूँचयुक्त सामग्रीको विकास र विस्तारमा एड्राड नेपालको भूमिका विशेष रुपमा प्रशंसानीय रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक विभागका राजेश धिताल, नेपाल सरकारकी उपसचिव निरा अधिकारी, कृषि विकास बैंकका पूर्व सीइओ अनिल उपाध्यय, डिपीओडिकी नेपाल प्रतिनिधि रेनु लोहनी, परिवार नियोजन संघका शरद अर्याल लगायत अपाङगता अधिकारको आन्दोलनमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले अपांगता भएका नागरिकको अधिकार एवं सशक्तिकरणका मुद्वामा एड्राड नेपालले गर्दै आएको पैरवीको प्रशंसा गरेका थिए ।

कार्यसमिति सदस्य रामप्यारी कार्कीले स्वागत मन्तव्य राखेकी कार्यक्रममा कोशी प्रदेशकी मनमाया तिमिल्सिना र राप्ति बहिरा संघ दाङकी प्रतिमा शर्माले संस्थाले काठमाडौंभन्दा बाहिर दुरदराजमा भएका अपाङ्गता भएका नागरिकको समस्या र उनीहरुको पहुँचयुक्तता, क्षमता विकास, आत्मनिर्भरता र आत्सम्मानका लागि गरेका प्रयत्नहरु प्रशंसायोग्य रहेको बताएका थिए ।

कार्यक्रममा कोषाध्यक्षको तर्फबाट संस्थाका लेखाप्रमुख सुमित कुमार मण्डलले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुगम भट्टराईले संस्थालाई आगमी दिनमा अझ रचनात्मक  रुपमा अगाडि बढाउन आफूहरु लागि पर्ने बताएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।