सशस्त्रको बढुवा यसै सातादेखि सुरु हुँदै, १२ एसएसपीका लागि यी १९ एसपी छन् मुख्य मैदानमा



काठमाडौं । लामोसमयदेखि रोकिएको सशस्त्र प्रहरीको बढुुवा प्रक्रिया यही सातादेखि खुल्ने भएको छ । सरकारले सशस्त्रमा १ सय ८५ जनाको दरबन्दी थप्ने निर्णय गरेपछि सशस्त्रमा लामोसमयदेखि ‘होल्ड’मा रहेकाहरुले बढुवाको अवसर पाउने भएका हुन् ।

सशस्त्रका अनुसार दरबन्दी थप भएसँगै साढे ६ हजार बढी बढुवा हुने देखिएको छ । ती मध्ये सबैभन्दा माथिल्लो तह भनेको एसएसपी बढुवा हो । अहिले एसपीबाट एसएसपीको बढुवामा निकै प्रतिस्पर्धा देखिएको छ। समायोजन हुनुअघि केवल ४ पद मात्रै रिक्त रहेकोमा विभिन्न आठ पद समायोजन गरेपछि १२ जना एसपीहरू एसएसपी हुने भएका छन् ।

सशस्त्र प्रहरी कार्यालयले बढुवाका लागि फर्म भर्नका लागि सूचना प्रकाशित गरेको समयावधि अन्तिम चरणमा छ । सशस्त्र प्रहरीमा आवेदन दिने म्याद सकिएलगत्तै बढुवाका लागि सिफारिस गर्ने प्रावधान रहेकोले यसैसाता एसएसपी बढुवा निस्कने सशस्त्र स्रोतले जनाएको छ ।

तीन वर्ष पुगेकाहरुलाई आवेदन आह्वान गरे पनि बरिष्ठ एसपीहरु नै १९ जना रहेको र ती मध्ये १२ जना मात्र बढुवा हुने देखिएकोले ५ वर्षभन्दा अगाडिदेखि एसपी भएकाहरु पनि छुट्ने देखिएको छ । २०७५ चैत १५ गते एसपी भएको समूह सिनियर भए पनि त्यसभन्दा पछि २०७७ जेठ २४ गते एसपी भएकाहरूको समूहले पनि आवेदन दिन पाउने भएपनि सशस्त्र एसएसपीका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीको पक्षमा काम गरेका वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बरिष्ठतालाई पहिलो प्राथमिकता दिने सोचमा रहेकोले सिनियर एसपीहरुबाटै एसएसपीमा बढुवा हुने अनुमान लगाउन सकिन्छ । बरिष्ठ रहेका १९ मध्ये १२ जना मात्रै बढुवा हुने भएपछि ७ जना सोही समूहका एसपीहरु छुट्ने छन् भने २०७७ सालमा एसपी भएकाहरु भने सबै छुट्ने निश्चितप्रायः नै छ ।

बरिष्ठ एसपीहरुमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनियाँ, धुव्र बहादुर कार्की, रमेशकुमार पाण्डे, तिर्थ राज पौडेल , रविन राज कर्णजित , बिरसिंह साहु, जनक पुरी, नेत्र बहादुर कार्की, सुर्य बहादुर सेनओली, तेज प्रसाद पोखरेल, यादव विश्वकर्मा, बिकास घिमिरे, टोप बहादुर खनाल, नरेन्द्र बम, अशोक बम, जहरसिंह बुढामगर र बिरेन्द्र ऐर रहेकाले एसएसपीका लागि यीनै १९ नै मुख्य प्रतिस्पर्धामा रहने देखिएको छ ।