इक्यान अध्यक्षमा पाण्डेले गरे उम्मेदवारी घोषणा



काठमाडाैं। एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन् ।

इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्,’तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले इक्यान कसरी विकास गर्छ र हामीकहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।’

उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् ।

आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’ केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरी घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ।

पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको निर्वाचन आगामी असार ३० मा हुँदैछ ।