नेपाली सेनाका २ सैनिक अधिकृत सैनिक नियन्त्रणमा
काठमाडौं । नेपाली सेनाका दुई अधिकारी सैनिक नियन्त्रणमा परेका छन् । सेना महासेनानी (कर्णेल) महेन्द्रजंग शाह र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) कुलदीप तिमिल्सिनालाई आर्थिक अनियमितताको आरोपमा नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।
उनीहरुलाई आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीले नाम लिएपछि उनीहरुलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको भण्डारीले जनाए । उनीहरुले कोर्टमार्सलमै रहेका बेला सर्वोच्चमा निवेदनसमेत दिएपछि सैनिक अनुशासन उल्लंघनको आरोप लागेको छ ।
उपरथी शाही आफ्नो कार्यकालमा विभिन्न युनिटमा रहँदा अनियमितता गरेको आरोपमा सैनिक हिरासतमा छन् । उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
सर्वोच्चमा उनीहरुले दिएको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज सुनुवाई भइसकेको भए पनि आदेश भने आइसकेको छैन ।