असई यादव हत्याप्रकरणः सशस्त्र एआईजी गौतमको कमाण्डमा छानबिन समिति गठन



काठमाडैं । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवकाे हत्या घटना छानबिनका लागि एआईजी सीपी (चन्द्रप्रकाश) गौतमको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

असोज २० नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई यादवको नग्न अवस्थामा शव भेटिएको थियो। असई यादवको टाउकोमा चोटसमेत देखिएको थियो।

उक्त हत्या घटनामा असई यादवसँगै एकै बीओपीमा कार्यरत सशस्त्रका जवान होमबहादुर खत्रीसमेतको संलग्ना देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

सशस्त्र प्रहरी हेडक्वार्टरले मंगलबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरेको छ।

जवान खत्रीले एक युवतीको प्रयोग गरेर असई यादवको हत्या गरेको हुनुसक्ने प्रहरीको आशंका छ। असोज १९ गते असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। सोही दिन जवान खत्रीले एक युवतीलाई बोलाएको पाइएको छ। अर्का एक जना युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर मोहनपुरतर्फ लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यद्यपि घटनाको अनुसन्धान जारी रहेकाले सबै कुरा पुष्टि भइनसकेको प्रहरी सा्रेतले जनाएको छ। असई यादवको शव पोष्टमार्टमपछि थप खुल्ने प्रहरीको भनाइ छ।