

आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ ।
विभागका अनुसार उक्त समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३.०१ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
पछिल्लो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९.४५ प्रतिशतले घटेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदैशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।