नगरभित्रको सडक निर्माण नगरपालिकाको पहिलो प्राथमिकताः नगरप्रमुख थापा



नैचाल माथिल्लो–आशापुरी सडक शिलान्यास

भक्तपुर । सूर्यबिनायक नगरपालिकाको वडा नं. ८ स्थित माथिल्लो नैचाल –आशापुरी सडकको शिल्यान्स गरिएको छ ।

सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

नमुना नगरपालिका बन्ने लक्ष्यसहित विकासकार्यलाई पहिलो प्राथमिकता दिँदै आएको सूर्यबिनायक नगरपालिकाले नगरभित्रका धार्मिक एवं सांस्कृतिक महत्वका स्थानहरुमा सहज पहुँचका लागि आशापुरीसम्म जाने सडक निर्माण गर्ने गरी बजेट छुट्याएको थियो ।

नगरपालिकाको सातौं नगरसभाबाट एक करोड बजेट विनियोजन गरिएको उक्त सडक निर्धारित मितिमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगरपालिका प्रमुख बासुदेव थापाले सूर्यबिनायक नगरभित्रको सडक निर्माण नगरपालिकाको र आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । उक्त सडकको शिलान्यास गर्दै थापाले भने, ‘धार्मिक हिसाबले महत्वपूर्ण मानिएको आशापुरीसम्म जाने सडकका लागि नगरपालिकाले प्राथमिकतामा राखेको छ, जसरी पनि निर्धारित मितिमै कार्य सम्पन्न गर्नुपर्दछ ।’ थापाले थपे, ‘सडक निर्माण सम्पन्न भइसकेपछि आशापुरी अहिलेको भन्दा धेरै पर्यटकहरुको गन्तव्य बन्दछ, त्यसको फाइदा स्थानीयबासीहरुलाई नै हुन्छ, त्यसैले तपाईंहरुले जतिसक्दो छिटो र भरपर्दो सडक बनाउनुहोस् ।’

उक्त अवसरमा सूर्यबिनायक वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नैचालदेखि आशापुरीसम्मको सडकको नाजुक अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले उक्त सडक खण्डको निर्माणमा जोड दिएको बताए । ‘यो सडक बनेपछि नैचालदेखि धार्मिक महत्वको आशापुरीसम्म जानका लागि सहज हुने मात्र नभई आशापुरी पर्यटकका लागि आकर्षक केन्द्रबिन्दु बन्छ ।’

उक्त अवसरमा नगरसदस्य धर्मराज बस्नेतले उक्त सडक निर्माणमा स्थानीयको पूर्ण साथ र सहयोग पाउनुका साथै निर्माणपक्षले पनि निर्धारित समयमै कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा बस्नेतले निर्माणपक्षलाई कामको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न अनुरोध पनि आग्रह गरे ।

कार्यक्रममा परमहंस आश्रमका तुलसी नंदन महाराज, कार्यपालिका सदस्य तारा बस्नेत, अजय तामाङ, भूतपूर्व वडाध्यक्ष ठूलोकान्छा तामाङलगायतका स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य एवं सूर्यबिनायक नगरपालिकाका सह–संयोजक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।