

नेपाल रग्बी सङ्घलाई विश्व रग्बीको सदस्यता

काठमाडौं । नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ । विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।
नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको हो । सङ्घ स्थापनाको ६ वर्षपछि नेपाललाई सन् २०१८ मा एशिया रग्बी महासङ्घले पूरक सदस्यता प्रदान गरेको थियो । नेपाल रग्बी सङ्घका अध्यक्ष घिसिङले विश्व रग्बी महासङ्घको सदस्यता पाउनु नेपालले रग्बी खेलको विकासका लागि गरेको मेहनतको फल भएको बताए ।
अध्यक्ष घिसिङले आज विज्ञप्ति जारी गर्दै विश्व रग्बी महासङ्घले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको बताए ।
एशिया रग्बी महासङ्घको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको हो । गत भदौमा एशिया रग्बी महासङ्घले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासङ्घलाई पत्राचार गरेको थियो ।