

भारतविरूद्ध नेपालको ऐतिहासिक जित, उपाधिका लागि बंगलादेशसँग भिड्ने

काठमाडौं । घरेलु मैदानमा चीर प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै नेपाल जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।
साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।
प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।
अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।