सिट र निर्वाचन क्षेत्र सँगै टुङ्ग्याउँदै गठबन्धन कार्यदल



काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रूप पाउने उनले बताए। दुई दिनमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने कार्कीको भनाइ छ।

उनले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गरे।सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो दाबीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन।