

परीक्षार्थीविरूद्ध खरो उत्रियो लोकसेवा, २० लाई एक वर्ष र १ जनालाई २ वर्षका लागि कारबाही

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ । उत्तरपुस्तिकामा नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो ।
आयोगले गत २१ जेठमा लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम, रोल नम्बर लेखेको आयोगले जनाएको छ ।
आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सबईन्जिनियर पदको लागि २१ जेठ ०७९ मा परीक्षा सञ्चालन गरेको थियो । २० जनाले भित्री पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए । २० जनालाई एक वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ ।
एक जनालाई दुइ वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ । प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।