सशस्त्र प्रहरीलाई ६.६ प्रतिशत खाली राखेर पदपूर्ति गर्न सर्वोच्चको आदेश
काठमाडौं । सशस्त्र प्रहरी बललाई सर्वोच्च अदालतले विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत खाली राखेर अरु पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ ।
सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको थियो ।
उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ६ भदौमा सशस्त्र प्रहरी बललाई थारु समुदायको जनसंख्याको अनुपात बराबरको सिट संख्या अर्थात कुल विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत पदमा रिटको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
प्रकाशित विज्ञापनमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता वुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकलाई पनि ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो । ती संस्थाले पनि थारु समुदायका लागि आरक्षण कोटा नछुट्याएपछि सर्वोच्चमा रिट परेको थियो ।